समाचार

क्षति न्यूनीकरण गर्न सबैको हातेमालो- माननीय नारायणकाजी श्रेष्ठ

Mag 2, 2080

अब स्थायी आवास पुनर्निर्माण

भूकम्पीय सुरक्षा सम्बन्धी सचेतना विस्तार तथा भूकम्प प्रतिरोधी संरचना निर्माण गरी क्षति न्यूनीकरणको प्रतिबद्धता जनाउन हरेक बर्ष आयोजना गरिने भूकम्प सुरक्षा दिवसको अवसरमा हामी यहाँ जम्मा भएका छौँ । कार्यक्रममा सहभागी सम्बन्धित सबै निकायका पदाधिकारीहरु, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत उपस्थित संघसंस्था, सुरक्षाकर्मी तथा अन्य सबैमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।

इतिहासबाट पाठ सिक्दै आगामी दिनमा यस प्रकारको क्षतिमा न्यूनीकरण गर्न जनमानसमा चेतना जगाउने उद्देश्यले २०५५ सालदेखि हामीले भूकम्प सुरक्षा दिवस मनाउँदै आएका छौँ । यस वर्षको कार्यक्रम त्यसैको २६ औं संश्करण हो ।

"स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ' नारासहित सुरक्षा दिवस मनाइरहँदा हामी यसै वर्ष गएका दुई मध्यमस्तरका भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको संघारमा पनि छौं ।

दुई महिनाअघि जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५४ जनाको ज्यान गयो, झण्डै एक लाख घर क्षतिग्रस्त वा चर्केर जोखिमयुक्त भएका छन् । ती भूकम्पबाट प्रभावितलाई अस्थायी आवास बनाउने कार्य जारी छ । हालसम्म ७२ हजार २१५ लाभग्राही पहिचान भइसकेका छन्, ४५ हजार ५१८ ले सम्झौता गरिसकेका छ । अस्थायी आवासका लागि हालसम्म २ अर्ब २६ करोड जिल्लामा पठाइसकिएको छ ।

अब हामी स्थायी आवास पुनर्निर्माणको चरणमा प्रवेश गर्दैछौं । यसका लागि भूकम्प लगायत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि तयार भइरहेको छ । सबै खालका विपद्हरुको न्यूनीकरण तथा व्यवस्थापनको नेतृत्व गर्ने हाम्रो केन्द्रीय निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा यी भूकम्पबाट भएको क्षतिको प्रारम्भिक आँकलन भइसकेको छ । जसअनुसार निजी आवास, सार्वजनिक भवन एवं पूर्वाधारको पुनर्निर्माण गर्न अनुमानित ७३ अर्ब रुपैयाँ लाग्ने देखिन्छ ।

 

सुरक्षित भवन निर्माणमा गाम्भीर्यता जरुरी

इतिहासका विभिन्न कालखण्डमा नेपालमा साना ठूला भूकम्प गइराखेका छन् । विगत १०० वर्षभित्र विसं १९९० सालको महाभूकम्प, २०३७ सालको बझाङ भूकम्प, २०४५ सालको उदयपुर भूकम्प, २०७२ सालको गोरखा भूकम्प केही मुख्य हुन् ।

गोरखा भूकम्पबाट तंग्निन नपाउँदै २०७८ जेठमा लमजुङ, २०७९ साउनमा खोटाङ, २०७९ कात्तिकमा डोटीका साथै यस वर्ष असोज १६ गते बझाङ र एक महिनापछि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर मध्यम खालका भूकम्प गइसकेका छन् । यी मध्यम खालका भूकम्पबाट समेत हामीले ठूलो क्षति व्यहोरेका छौं ।

२०७८ को जनगणना अनुसार कर्णाली प्रदेशमा मात्र ८० प्रतिशत भन्दा बढी र सुदूर पश्चिममा ४७ प्रतिशत भन्दा बढी ढुंगा माटोले बनेका घरमा कुनै बन्धन नभएको पाइएको छ । नेपालको पश्चिमी क्षेत्रमा गत ५०० वर्षयता ठूलो भूकम्प नगएकोले जुनसुकै बेला जानसक्ने भएको विज्ञहरुले बताइरहेका बेला हामीले सुरक्षित संरचना निर्माणका लागि गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ ।

यसै बर्षका मध्यम खालका भूकम्पबाट भएको यस स्तरको क्षतिले पश्चिम नेपालका निजी आवास तथा सार्वजनिक संरचनालाई भूकम्प उत्थानशील बनाउन काम थाल्न ढिला भइसकेको संकेत मिल्छ । तसर्थ, देशभरका संरचनालाई उत्थानशील बनाउने र आगामी दिनमा बन्ने संरचना भूकम्प लगायत सबै खालका विपद् उत्थानशील बनाउनेतिर गम्भीर भएर लाग्न म सबैलाई अपिल पनि गर्दछु ।

भूकम्प सुरक्षा दिवसका अवसरमा म सबै पालिकालाई आफ्नो पालिकाभित्र भएका भवन र संरचनाहरुको जोखिम आँकलन गर्न साथै नयाँ बन्ने संरचनाहरुमा राष्ट्रिय भवन संहिताको पालना गर्ने कार्यलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछु । भूकम्प लगायतका विपद्‍बाट जनधनको सुरक्षा गर्नका पूर्वतयारीका काम पनि प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकतामा तदारुकताका साथ लाग्नका लागि म स्थानीय तह र प्रदेश सरकारहरुलाई अपिल गर्दछु ।

भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचारप्रसार हुन सके जनमानसमा चेतनाको विकास र विस्तार भई आगामी दिनमा भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । यस अभियानमा सबैको हातेमालो आवश्यक छ ।

 

खुल्ला क्षेत्र कायम गरौं

भूकम्प सम्बन्धी सुरक्षाको चर्चा गरिरहँदा खुल्ला स्थानहरुको महत्व निकै छ । हालसम्म राष्ट्रिय विपद् सूचना प्रणालीमा झण्डै हजारवटा खुल्ला क्षेत्र विभिन्न पालिकाले पहिचान गरी प्रविष्ट गरेका छन् । बढ्दो शहरीकरणको चपेटमा परी काठमाडौं लगायतका खुल्ला ठाउँहरु खुम्चिएको विषयलाई हामीले गम्भीर रुपमा लिनुपर्ने देखिन्छ । धेरैभन्दा धेरै खुल्ला क्षेत्र कायम गर्न जोड गरौं । यसमा विशेष गरेर महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुको सहभागिता अनिवार्य हुन जानेछ ।

सरकारी र सार्वजनिक प्रयोगमा रहेका संरचनाहरूको जोखिम लेखाजोखा गर्ने र तिनलाई सुरक्षित पार्ने कार्यलाई प्राथमिकता दिइएको छ । आगामी दिनमा भूकम्पबाट सुरक्षित संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लगिनेछ ।

संघीय सरकार विभिन्न सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माणको क्षमता अभिबृद्धि गर्न काम गर्दै लैजानु पर्ने आवश्यकता छ । सचेतना बढाउन परम्परागतसँगै अहिले आएका नयाँ प्रविधिहरुलाई तथा नयाँ प्लेटफर्महरुलाई अधिकतम उपयोग गरिनेछ । आम नागरिकहरुको रुचि अनुसार माध्यमहरुको छनोटमा ध्यान दिइनेछ ।

यो अवसरमा भविष्यमा आउन सक्ने भूकम्प लगायतका कुनै पनि प्रकोपका कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लागिपर्न आह्वान गर्दछु । सरकारको तर्फबाट सम्पूर्ण रूपमा प्रतिबद्धता पनि जाहेर गर्दछु । विपद जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिनेछ ।

(२६ औँ भूकम्प सुरक्षा दिवसको कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको सम्बोधनमा आधारित)

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4